किरात राई जातिको छोटो चिनारी

   पृथ्वीमा जब जीवहरूको उत्पत्ति भयो, त्यसपछि करोडौं वर्षको अन्तरालमा प्राकृतिक नियमानुसार विकासक्रममा अन्य जीवहरू भन्दा विकसित जीव मानव नै भयो । पृथ्वीको विभिन्न भू-भाग र हावापानीमा विकसित मानव समूह मुख्य गरेर मंगोल, काकेसीयन, हब्सी, द्रविड भनेर चिनिए। यसरी चिनिने मानव समूहको नाम नै पछि गएर प्रमुख जातिको रूपमा स्थापित भएको हुनुपर्दछ । अहिलेका आधुनिक मानव जातिका पुर्खाहरूले धेरै प्रकारका हण्डर, ठक्कर खाँदै यस अवस्थामा आइपुगेका हुन् । पहिले अल्प संख्यामा भएका मानव जातिको क्रमश: संख्या वृद्धि हुँदैजाँदा आहार, बसोबासको अपुग, समस्या र आवश्यकताले उपयुक्त ठाउँको खोजी गर्दै हिड्दा विभिन्न उप-समूहमा विभाजित हुँदैगएको हुनुपर्दछ । यसकारण विभिन्न ठाउँहरूको बसोबासले गर्दा भाषा, भेषभुषा, खानपान, संस्कृति, शारीरिक बनोट, रूपरङ्ग नै फरक बन्न गयो ।

    मानव शब्दको परिभाषा गर्ने हो भने मानव क आफै सिङ्गोरूपमा एउटा जाति हो । तर विकासक्रमको लामो अन्तरालमा उपयुक्त हावापानी, भू-भागको खोजी गर्दै जाँदा विभिन्न ठाउँको बसाइको कारण फरक संस्कृति, रूप, रङ्गका हुन पुगेका हुन् । उपर्युक्त भनाइ र अवस्थानुसार नै आदिकालमा गंगाको मैदानको उत्तरपट्टि रहेको विशाल हिन्दुकृश हिमश्रृंखलाको काखमा बसोबास गर्दै आएका किरात जातिका पुर्खाहरू पनि उपयुक्त स्थानको खोजिगर्दै वर्तमान नेपाल देशको राजधानी काठमाडौं उपत्यका हुँदै पूर्वी भू-भाग किरात प्रदेशसम्म पुगेर बसोबास गरेको हुनुपर्दछ । नेपालको पूर्वी भू-भाग किरात प्रदेशमा बसोबास गरिरहेका किरात राईहरू विभिन्न अवसरका खोजीका कारण अहिले पनि देशभित्रका विभिन्न भागदेखि अन्तर्राष्ट्रसम्म छरिएर बसोबास गरिरहेको पाइन्छ ।

   पृथ्वीमा भौतिक रूप र मानव सभ्यताको विभिन्न चरणमा अनेकौं पटक ठूला-ठूला परिवर्तन भइसकेका छन् र भइरहने छन् । वर्तमान नेपाल र विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको स्थानमा पहिले तेथिस सागर रहेको भूगोलवेत्ताहरूको भनाइ छ । पृथ्वीमा आएको भौतिक परिवर्तनका कारण तेथिस सागर रहेको स्थानमा हाल नेपाल देश, सगरमाथा र एसिया महादेश रहेको छ ।

   नूवंशशास्त्रानुसार एसिया माइनर (एसिया माइनर भन्नाले टर्कीलाई चिनाउँदछ) ब्ल्याक सी र मेडिटरियन सीको बीचमा संसारको सभ्यताको पहिलो थलोको रूपमा रहेको ठहर गर्दछन् । यसप्रकार एसिया माइनर र मध्य चीनमा एउटा छुट्टै प्रकारको मानव समूहको विकास भएको भनिएको छ । हिन्द महासागरको आसपास र एसिया महादेशमा बसोबास गर्ने केही मानव जातिको शारीरिक बनावट, रूप-रङ्ग र टिबेटो-बर्मन भाषा परिवारको आधारमा (तिब्बतदेखि बर्मासम्म बोलिने भाषाहरू) एउटै समूहमा पर्ने भएकाले ती मानव समूह  मंगोल समूह भनेर चिनिएको छ। त्यहि मंगोल समूहबाट उप-समूह वा उपजाति शाखा- प्रशाखाको रूपमा विकसित जातिमध्यकै एउटा किरात जाति पनि हो ।

  "किरात" शब्द क् विक्षेप र अत सातव्य गमने यी दुइवटा धातुबाट बनेको छ। यस शब्दले वेद, पुराण, स्मृतितन्त्र, कोश आदि समस्त प्राचीन साहित्यको इतिहासलाई ओगटेको छ । वस्तुतः "किरात" शब्द वैदिक कालदेखि नै मूलरूपले प्रयुक्त हुँदै आएको देखिन्छ । नेपालदेखि समुन्द्र पर्यन्त शासन गर्ने किरातहरू नै हुन् । त्यसो हुँदा क् विष्षेप धातुबाट किरतीति किरः रूप हुन्छ । यसको अर्थ हो (अवसकरादी: निक्षेप स्थान पर्यन्त भूमि) समुन्द्रसम्मको भूमि ।

 किरमतन्ति - गच्छन्ति येते किराता: । 

अर्थात् "समुन्द्र पर्यन्त भू-भागलाई पराक्रमले जितेर शासन गर्नेलाई " किरात भन्दछन ।

Comments

Post a Comment