किरात राई जातिको छोटो चिनारी
पृथ्वीमा जब जीवहरूको उत्पत्ति भयो, त्यसपछि करोडौं वर्षको अन्तरालमा प्राकृतिक नियमानुसार विकासक्रममा अन्य जीवहरू भन्दा विकसित जीव मानव नै भयो । पृथ्वीको विभिन्न भू-भाग र हावापानीमा विकसित मानव समूह मुख्य गरेर मंगोल, काकेसीयन, हब्सी, द्रविड भनेर चिनिए। यसरी चिनिने मानव समूहको नाम नै पछि गएर प्रमुख जातिको रूपमा स्थापित भएको हुनुपर्दछ । अहिलेका आधुनिक मानव जातिका पुर्खाहरूले धेरै प्रकारका हण्डर, ठक्कर खाँदै यस अवस्थामा आइपुगेका हुन् । पहिले अल्प संख्यामा भएका मानव जातिको क्रमश: संख्या वृद्धि हुँदैजाँदा आहार, बसोबासको अपुग, समस्या र आवश्यकताले उपयुक्त ठाउँको खोजी गर्दै हिड्दा विभिन्न उप-समूहमा विभाजित हुँदैगएको हुनुपर्दछ । यसकारण विभिन्न ठाउँहरूको बसोबासले गर्दा भाषा, भेषभुषा, खानपान, संस्कृति, शारीरिक बनोट, रूपरङ्ग नै फरक बन्न गयो । मानव शब्दको परिभाषा गर्ने हो भने मानव क आफै सिङ्गोरूपमा एउटा जाति हो । तर विकासक्रमको लामो अन्तरालमा उपयुक्त हावापानी, भू-भागको खोजी गर्दै जाँदा विभिन्न ठाउँको बसाइको कारण फरक संस्कृति, रूप, रङ्गका हुन पुगेका हुन् । ...