किराती संस्कृति (किरावा सुम्तुम)

   सनातन किराँत धर्मावलम्बी राई लिम्बुको ६ गर्मिक कर्म-काण्ड गर्ने भार माबी, माङपा, दोवा, होमे र थुप्सङमी, दिलुङमी, रूमी, पामीमाथि नै निर्भर हुन्छ भने लिम्बुहरूको येबा, येमा, तेआङसी, फेदाङबा, तुम्भाक, तुम्याहाङहरू हुन्छन् । 


   किराँती राई, लिम्बुहरूको धर्म, गुरू, कर्मगुरू, पुरोहित, पुजारी जो भने पनि उनीहरूनै हुन् । जब कुनै पनि किराँती राई लिम्बुको घरमा कुनै प्रकारको कार्य या काम पर्छ सो कार्य अनुसारको कर्म गुरू, पुजारीलाई दस्तुर अनुसारको रक्सी या अन्य सौगातसँग निमन्त्रण गरी बोलाई कर्म गराउने गर्छन् ।
कतिपय कर्ममा सुंगुर या कुखरा मारेर थानमा झुण्डयाइन्छ, यसलाई राईहरूले होप्ताङ्  भन्दछन् । त्यसरी राई लिम्बुहरूको घरमा जस्तो काम पर्छ उनीहरूलाई निम्त्याएर कर्म गर्छन् । कति कर्ममा सुंगुर कुखराहरूको बलि पनि दिने गर्छन् । 


 


   राई लिम्बु किराँत धर्मावलम्बी हुनाले बलि दिनमा कुनै दोष मान्दैन किन भने किराँतीहरू क्रगवेदी हौं भन्दछन् । हुनता लिखित क्रगवेदमा जे जस्तो लेखिएको भएता पनि किराँती क्रगवेदी हौं भन्दछन् । लिखित क्रगवदेमा जे जस्तो लेखिएको भएता पनि किराँती क्रगवेदी गुरूहरू मुन्धुमी वेदले नै सबै कर्मकाण्ड गर्दछन् ।
उनीहरूलाई लिखित वेदको कुनै आवश्यकता छैन। उनीहरू सपनामा ज्ञान विद्या र मंत्रहरू पाउँछौं भन्दछन् तर उनीहरूलाई चोखो जाँड, रक्सी, अदुवा, अक्षता चाहिँ नभई हुँदैन। यस बाहेक ढोल, ढयाङग्रो, झेम्टा, केनसङ, घुड्रीङ, सेउली, इत्यादि चाहिँ उनीहरूको ओहदा र कर्म अनुसारले चलाउने गर्दछन् ।
यी सबै किराँती संस्कृतिका रूप रेखाहरू हुन् । यस संस्कृतिलाई युगौंयुगदेखि पालन गरी ल्याएको हुनाले किराँतीहरूले सनातनि किराँत धर्म भनि विश्वास गर्दछन् र यस संस्कृतिलाई परिवर्तन गर्दा महाभूल हुने विश्वास राख्दछन् र हो पनि।

   यो संसार ईश्वरको सृष्टि हो, ईश्वरको सृष्टि पूर्ण गर्नको लागि हामीहरूलाई जुन कुलमा जन्म दिनु योग्य छ त्यसै कुलको कोखमा जन्मनु खटाएर हामीले सोहि कुलको माता-पिताको कोखबाट जन्म लियौं, यसरी जन्म लिएरपछि माता-पिता तथा कुलले पालन गरी ल्याएको परम्परा रिती-थिति संस्कृतिलाई पालन गर्नु हाम्रो परम कर्तव्य हो किन भने त्यो परम्परा कर्म धर्म ईश्वरबाट लुकेको हुँदैन।जो कर्म हुन्छ त्यो ईश्वरको दृष्टिमा नै हुन्छ।

   यसर्थ धर्म-कर्म बदली नगर्नु पर्ने हुन्छ किन भने ईश्वरको खटनलाई उल्लङघन भएको खण्डमा ईश्वरअरिष्ट भए दु:ख दरिद्रता रोग, व्याधीले कहिले छोड्दैन । यसर्थ किराँतीले सम्पूर्ण धर्म- कर्मसहित स्वधर्म पालन गरिरहनु र धर्मकर्म परिवर्तन नगर्नु उत्तम हो।

धर्म परिवर्त्त्न विषय डाक्टर डिल्लीराम तिमसिना लिखित गितानुसिन पुस्तकमा पृष्ट १७ श्लोक ३५ मा यस्तो लेखिएको छ :-

श्रेयान स्वधर्मो बिगुणा: परधर्मत्सस्वनुष्ठितात । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह: ।

अर्थ-परधर्म सहज भए पनि स्वधर्म नै श्रेयस्कार हुन्छ​ स्वधर्म अनुसार निर्धन हुनु कल्याणकारी मानिन्छ र परधर्म भयंकर हुन्छ ।

 सनातनि किराँत धर्मावलम्बी किराँतीहरू भगवान शिव-पार्वती पुजक हुन् औ उनै भगवानलाई पितृदेव मानी लिने गर्छन् । शास्त्रमा लेखिएका छः स्वयम भगवान शिवजी र माता पार्वतीले द्वापरयुगमा किरात रूप धारण गरेर किराँतीहरू साथ लिइ वनविहार अर्थात् (वनमा शिकार खेले) भनी लेखिएको छ।
सोहि बखत अर्जुनले शिवजीको तपस्या गरी पाशुपत अस्त्र पाएको ठाउँमा आज सिक्किमको लेकसेप किराँतेश्वर धाम अवस्थित छ।

अर्को तर्फ किराँती धर्मगुरू, पुजारी, माबी, माङपाहरूले मुन्धुम गाउँदा भन्छन् " सुम्नीमा पारूहाङो सोम्छा, खारूछा, भनि पुकार्छन् "। यो मुन्धुम र शास्त्रको कुरा मेल खान्छ, यसर्थ किराँतीहरूको पितृदेव साक्षात् ईश्वर हुन् । किराँतीहरूको सांस्कृतिक चिह्न धनुकाँड, खुकुरी, ढोल, झेम्टा, सोलैवा र चिण्डो हो। यी चीजहरू प्रत्येक किराँतीको घरमा राखेका हुन्छन् । यी चीजहरू किराँतीहरूलाई प्रत्येक कर्मकाण्ड, पूजा इत्यादिमा चाहि रहने चीजहरू हुन् । यसर्थ सनातनि किराँत धर्मावलम्बी प्रत्येक किराँतीको घरमा यी चीजहरूको जोहो गरी राखौं । किराँतहरूमा घात गर्ने, बलि दिने प्रथा युगौदेखि चलिआएको छ। तर आजको समय र युगमा खर्च घटाउँ, काम चलाउँ भन्ने भावना लिएर जख्रत परेको ठाउँमा मात्र बलि दिने र घात गर्नुपर्ने समयको मांग छ। जस्तै सुंगुरको होप्ताङको ठाउँमा कुखरा, परेवा र देव पितृ कार्यमा राँगा, सुंगुरको बदलीमा कुखरा परेवाले बलि दिएर काम चलाउने समय आएको छ अर्थात यसरी चलाई ल्याइएको पनि पाउँछौं।

   अघिका किराँतीहरूले विवाह कार्य होस् या मरौ होस्  राँगा, सुंगुर, भेंडा इत्यादि घात गरी कार्य गर्ने चलन थियो। सन्  १९५५ सालमा मेरी माता स्वर्गवास भइन् र म र दाजु दुःखमा बसेको थियौं। त्यस बेला हामी दुइले सल्लाह गरेर मैले पिताजीलाई अनुरोध गरें कि माताको अन्त्येष्ठीमा घात नगर्ने र निरामिष भोज चलाउने भनी।
यो प्रस्तावलाई पिताज्यू र अरू आफन्तहरूले पनि स्वीकार गरेर सर्वप्रथम हाम्रो गाउँमा त गर्न बन्द भयो। त्यसपछि याङयाङ, नाम्फोकमा सारा राई किराँतीहरूमा अन्त्येष्ठी कार्यमा घात बन्द भयो तर लिम्बु किराँतीहरूमा चाहिँ घात जारी रह्दो। यसो हुँदा १९५७ तिर हुन सक्छ मैले सोक्पे निवासी सुखबल लिम्बु पंञ्चायत सेक्रेटेरीसँग अन्त्येष्ठी कार्यमा घात नगर्ने विषय प्रस्ताव राखेँ । उहाँले चाँडै नै उहाँ कै घरमा सबै लिम्बु समाज भेला गर्ने र त्यस विषय सम्झाउने भनी मलाई पनि उपस्थितिको निमन्त्रण गर्नु भयो।
   तोकिएको दिन सबै लिम्बु समुदाय को जमघटमा म पनि उपस्थित हुन पुगें तर नाम्फोकको लिम्बुहरू भने थिएनन् । उपस्थित समुदायको जमघट विषय घात नर्गेन छलफल गरी अबउप्रान्त घात नगर्ने प्रस्ताव पारित भयो ।
त्यसपछि मैले नाम्फोक आउदा श्री कर्णबहादुर लिम्बुसँग सम्पर्क गरी त्यस गाउँका लिम्बु समुदाय भेला गराई अन्त्येष्ठी कार्यमा घात नगर्ने विषय छलफल गरी त्यस समयदेखि अन्त्येष्ठि कार्यमा घात नगर्ने प्रस्ताव पारित गरियो। हालसम्ममा यो व्यवस्था सम्पूर्ण देशको किराँती राई लिम्बुहरूमा प्रायः लागु भईसकेको अनुमान गर्दैछु।
कोही-कोही किराँत धर्मावलम्बी किराँतीहरूले आफ्ना संस्कृति धर्मको भेद राम्ररी बुझन नसकेको पनि देखिएको छ। त्यस्तै एकजना किराँती माङपा करीब ३० वर्षको उमेरमा माङपा उत्रिएर सबै कर्मकाण्ड गर्दै थियो। केही दिन पछि तिनले सुंगुर या कुखराको होप्ताङको बदलीमा केराको कांग्योको होप्ताङ राखी कर्म गर्न थालेको देखियो ।
तर त्यो माङपा चाँडै नै आफ्ना छोरी-छोरा डुहुरा बनाएर परलोक हुनुभयो। तिनी उमेरमा नै किन परलोक भए त्यो कुरा हाम्रा माङपा माबीहरूले नै जानुन् ।


   यसरी किराँत धर्मावलम्बी किराँतीहरू बलि दिन हिचकिच गर्छन् भने उनीहरूले शास्त्रमा लेखिएको कुरा पनि बुझून् भनि मनुस्मृति नामक पुस्तको पृष्ठ १९४ र १९५ मा लेखिएको केहि पदहरू प्रकाश गरिरेहेछ सो निम्न लिखित हो- 

मधुपर्के च यञ्चे च पितृदैवत कर्मणि ।अन्नैव पशुवों हिंस्या जान्यत्रे ब्रवीन्मनु ।

अर्थ : मधुपर्क, ज्योतिष्टोमादि यज्ञ, पितृदेव कार्यमा नै पशुवध गर्नपर्छ, अरू बेला नमार्नु भनी मनुजीले भनेको छ।

कृत्वा स्वयं वा ब्युत्पाद्य परोपकृतमेव वा । देवन्पितृ श्चार्यत्वि खादन्मासँ न दोष्याति।

अर्थ : मोल लिएर या आफै अर्जन गरेर अरूले दिएको पितृ पूजाको मासु खानु दोष हुँदैन, अरू मासु नखानू।
  

नियुक्तस्तू यथान्यायं मासं नान्ति मानव । सप्रेत्य पशुवां याति सम्ब्भावनेकबिंशतिम ।

अर्थ : शास्त्रको आज्ञा अनुसारको मासु जो खाँदैन उ मरेर 2१ जन्मसम्म पशुत्व हुन्छ यसर्थ विधिपूर्वका भासु खानू ।

यज्ञार्थ पशुवः सृष्टाः स्वयमेव स्वयम्भुवा । यज्ञस्य भत्थै सर्बस्य तस्माद्यञ्चे बधो बधो ।

अर्थ-ब्रह्याजीले यज्ञको लागि अनि सिद्धका लागि ती पशुहरू बनाए यसर्थ यज्ञमा पशु वध गर्नु वध होइन यसकारण यज्ञमा वध गर्नाले हिँसा हुँदैन ।

हुनता किराँतीहरूको सांस्कृतिक चिहन धनु काँड्ले नै बुझाउँछ किराँतीहरूको धर्ममा काटनु, मार्नु खुल्ला छ तर पनि कोही किराँती साधु सन्यासहरूका काट मार बर्जित नीतिको बहकावमा परी मनबिथोलिएका र मन विचार खलबलिएर आफ्ना वंश परम्परालाई भुलेर भरजन्म पालन गर्न पर्ने ईश्वरको खटनलाई उल्लङघन गर्नु किराँतीको लागि महाभूल हुनेछ । सत्य करण जुन कुलमा आफ्नो जन्म भएको छ सोहि कुलको धर्म कर्म पालन गर्नु नै महान धर्म हो भने धर्म परिवर्तन गर्नु महापाप हो ।

किरातेश्वर महादेवको जय होस् ।
सनातनी किरात धर्मको जय होस् । 

किराती संस्कृति युग-युग बाँची रहोस् ।

Download Our Android App for more Click Here

 

Comments